समाचार

७ साउन २०७९, स्याङ्जा । नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिव पद्मा कुमारी अर्यालले कांग्रेस सभापित एवम् प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको गठबन्धनलाई देश र जनताको नभई सत्ताको चिन्ता मात्रै भएको आरोप लगाइन् । 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवसको सन्दर्भमा राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाद्वारा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै सचिव अर्यालले भनिन्, ‘देश श्रीलंकाको दिशामा जाँदैछ । तर, गठबन्धनलाई सत्ता र सरकारको मात्रै चिन्ता छ ।’ गठबन्धन धर्तीमा घाम र जून रहे सम्म सत्तामा आफू मात्रै रहन खोजेको उनले जिकिर गरिन् । 

मुलुक चौपट बन्दै गएको र नागरिकको दैनिक असहज परिस्थितमा गएको बताउँदै अब आर्थिक मुद्धामा सबै एक हुन सचिव अर्यालले आग्रह गरिन् । मुलुकमा राजनीतिक आन्दोलन समाप्ति भएकाले अबको गन्तव्य आर्थिक आन्दोलन हुनुपर्ने उनले जोड दिइन् ।

फरक प्रसंगमा समतामुलक समाज निर्माणका लागि पुष्पलालको आदर्श नै आजको मार्गदर्शन भएको सचिव अर्यालको भनाई थियो । समाजमा सबैखाले विवेदको अन्त्यका लागि पुष्पलालको योगदानको कदर गर्न कसैले नसक्ने उनले दावी गरिन् ।