समाचार

११ साउन २०७९, पोखरा । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कास्कीले बुधबार पोखरामा विरोध प्रदर्शन गरेको छ । महिला संगठन कास्कीले महंगी, महिला हिंसा र सरकारले हालै पारित गरेको नागरिकता विधेयकको विरोध गर्दै बुधबार पोखरामा थाल ठटाएर विरोध प्रदर्शन गरेको छ । 

संगठनले पोखराको अमरसिंहचोकमा थाल ठटाउदै तत्काल महंगी नियन्त्रण गर्नुपर्ने, महिला हिंसा रोक्नुपर्ने र नागरिकता विधेयक सच्याउनुपर्ने माग राखेको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कास्कीका अध्यक्ष विष्णु कार्कीले भनिन्, ‘सरकारले जनता र राष्ट्रहित विरोधी सबैखाले क्रियाकलाप तुरुन्त रोक्नुपर्छ । आफ्नो राजनीतिक फाईदाका लागि राज्यको गम्भिर मुद्दामा सरकारले जथाभावी गर्न मिल्दैन । ’

राष्ट्रिय प्रजातन्त्र पार्टीको देशब्यापी विरोध कार्यक्रम अन्तरगत पोखरामा पनि महिला संगठनले सडकमा प्रदर्शन गरेको हो । थाल ठटाएर गरिएको विरोध प्रदर्शनमा पार्टीका नेता तथा कार्यकर्ताहरुको पनि बाक्लो उपस्थिति रहेको राप्रपा कास्कीले जनाएको छ ।