समाचार

१२ साउन २०७९, काठमाडौं । पूर्वीनवलपरासी पूर्वको दुम्कौली र पर्साको परवानीपुरमा अत्याधिक वर्षा भएको छ । वर्षासँगै आएको बाढीले सर्तकता तह पार गरेपछि सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

परवानीपुरमा ६ घण्टाको अवधिमा १०९ मिलिमिटर वर्षा भई सकेको छ । ६ घण्टाको अवधिमा १०० मिलिमिटर भन्दा बढी वर्षा भएमा खतराको तह मान्ने गरिन्छ । यता दुम्कौलीमा पनि १२ घण्टाको अवधिमा १३४ मिलिमिटर वर्षा भएको छ । १२ घण्टाको अवधिमा १२० मिलिमिटर भन्दा बढी वर्षा भएमा खतराको तह मान्ने गरिन्छ । यी क्षेत्रका साना तथा ठाडो खोलाहरु र गहिराइ भएको क्षेत्रमा ढुवान हुने खतरा बढेकाले तत्काल सर्तकता अपनाउन महाशाखाले जानकारी गराई सकेको जनाएको छ । 

बुधबार महाशाखाले देशभर २०८ वटा वर्षा मापन केन्द्रहरु मापन गरेको वर्षाको विवरण अनुसार सबै भन्दा बढी वर्षा ११७.४ मिलिमिटर मोरङ्गको लेटाङ्ग केन्द्रमा भएको थियो । 

हाल काठमाडौं उपत्यकासहित देशभर आंशिक देखि भारी वर्षा भई रहेको महाशाखाले जनाएको छ । विशेषगरी बारा, पर्सा, चितवन, पूर्वी नवलपरासी, रूपन्देही र कास्की क्षेत्रमा भारी वर्षा भइरहेको छ। वर्षा र बाढीले क्षति पुर्‍याउन सक्ने भन्दै तटीय क्षेत्र आसपास र डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

‍यस्तै पर्साको ठोरी, मकवानपुरको हेटौडा, चितवनको शक्तिखोर, गोविन्दबस्ती लगायत नवलपरासी, रूपन्देही, कास्की र आसपासका केही स्थानमा वर्षा भइरहेको र थप वर्षा हुनसक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ। यता पूर्वीनवलपरासी पूर्वको दुम्कौली, चितवनको माडी क्षेत्रको छर्छरे, पोखराको जुम्लेटी लगायत क्षेत्रमा ठूलो पानी परिरहेकाले सतर्क रहन आग्रह गरेको छ।

छेटु शेर्पा, गोरखापत्र