समाचार

१६ भाद्र २०७९, स्याङ्जा । वालिङ उद्योग वाणिज्य संघ संस्थाको साधारणसभा एवम् अधिवेशनमा जुटेको छ । संघको १६औ साधारसभा एवम् ८औं अधिवेशन यही भाद्र १८ गते डाकिएको छ । 

तर, संघमा कार्यरत कर्मचारीको तलब रोकिएको १३ महिना पुग्यो । चारजना कर्मचारीले पाउनुपर्ने तलब र सेवासुविधा १३ महिना बित्दा पनि पाउन सकेका छैनन् । ‘२०७७ देखि तलब पाइएको छैन,’ एक कर्मचारीले भने, ‘खै कहिले हो पाउने अझै थाहा छैन ।’ चारजनाको हालसम्म तलब करिब ११ लाख ७० हजार रुपैयाँ पाउनुपर्ने देखिन्छ । 

संघका अध्यक्ष शोभाकान्त पौडेलले सदस्यता नवीकरण र कोरोनाले समयमै कर्मचारीको तलब दिन नसकेको बताए । अध्यक्ष पौडेलले भने, ‘हाम्रो मुख्य आम्दानीको स्रोत सदस्यता नवीकरण हो । सदस्यता नवीकरण समयमै गर्न सकिएन, त्यसैले वहाँहरुको रोकिएको हो ।’
 
दुई/तीनदिन पहिला करिब ५ सय ५० जनाले सदस्यता नवीकरण गरिएको जानकारी दिँदै तलब त्यही आम्दानीबाट खुवाउन सक्ने पौडेलले बताए ।  कोरोनाले साधारण सभा एवम् अधिवेशन, वालिङ महोत्सव, वालिङ नगरपालिकाले फुटकर कर उठाउन रोकेका कारणले संघको आम्दानी नभएको उनले बताए । 

वालिङ उद्योग वाणिज्य संघको हाल सम्म करिब २५ लाख रुपैयाँ ऋण रहेको छ । संघको सचिवालय एवम् बहुउद्धेश्यीय भवन निर्माण, सचिवालय सञ्चालन र कर्मचारीको तलब गरी २५ लाख ऋणको स्रोत जनाएको छ । 

संघमा १४ सय २० जना सदस्य छन् । आगामी १८ गते हुने साधारणसभा एवम् अधिवेशनका जम्मा ५ सय ५० जनाले मात्रै साहभागिता जनाउन पाउने भएको छ । बाँकी सदस्यहरुले आफ्नो सदस्यता नवीकरण गरिएको छैन । 

पछिल्लो समय संघ राजनीतिक अखडा भएको बताउदै वालिङका उद्योगी, व्यापारी र व्यवसायीहरु संघको नेतृत्वप्रति रुष्ट छन् ।