समाचार

२१ भाद्र २०७९, स्याङ्जा । वालिङ नगरपालिकाले वालिङ उद्योग वाणिज्य संघलाई ३ दिनभित्र संघको कागजात बुझाउनुका साथै भाद्र २७ गते नगरपालिकामा उपस्थित हुन निर्देशन दिएका छन् । 

संघको १६औ साधारसभा एवम् ८औं अधिवेशन बारे संघकै वरिष्ठ उपाध्यक्ष अर्जुन खनाल सहित ११ जना सदस्यहरुले वालिङ नगरपालिकाको न्यायिक समितिमा दिइएको उजुरीका आधारमा नगरपालिकाले संघलाई उक्त निर्देशन दिइएको हो । वरिष्ठ उपाध्यक्ष खनाल सहितले  ११ जनाले २०७५ जेठ १५ गते भएको भाद्र सहमति र निर्णयका आधारमा संघको साधारणसभा र अधिवेशन गर्नुपर्ने मागसहित उजुरी दिएका थिए । 

सो उजुरीका कारण गत भाद्र १८ गते डाकिएको साधारणसभा रोकिएको थियो । नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक कविता तिवारीले संघलाई साधारणसभा रोक्न निर्देशन दिएकी थिइन् । 

उजुरी बारे बुझ्न र छलफल गर्न न्यायिक समितिका संयोजक तिवारीले संघलाई ३ दिने अल्टिमेटम दिएकी छन् । अल्टिमेटम्मा लेखिएको छ, ‘वालिङ उद्योग वाणिज्य संघको मिति २०७५ असार १ गते भएको साधारण सभा पश्चात हालसम्म भएको लेखा परीक्षण प्रतिवेदन, साधारण सभाको पुस्तिका, संस्थाको नविकरण भए नभएको आदि पुष्टि हुने कागजातको साथै निर्णय पुस्तिकाको सक्क ३ दिनदिन भित्र न्यायिक समितिमा उपलब्ध गराई भाद्र २७ गते सोमबारका दिन १ बजे सम्पूर्ण सदस्यहरु सहित उपस्थित हुन अनुरोध छ ।’ सो विवरण नगरपालिकाद्वारा वालिङ उद्योग वाणिज्य संघका नाम मिति २०७९ भाद्र २० को चलनी नम्बर ३९०मा जारी पत्रमा लेखिएको छ ।

उता संघका अध्यक्ष शोभाकान्त पौडेलले संघ विधि र विधानमा चलेको दावी गर्दै आफूहरु नगरपालिकामा उपस्थित हुने बताए ।