समाचार

२३ भाद्र २०७९, स्याङ्जा । पूर्वमन्त्री एवम् वर्तमान सांसद पद्मा कुमारी अर्यालको नाम स्याङ्जा २ बाट एकल सिफारिस भएको छ । आगामी मंसिर ४ गते हुने संघिय निर्वाचन स्याङ्जा क्षेत्र नम्बर २ का लागि नेकपा (एमाले)का तर्फबाट पूर्वमन्त्री एवम् सांसद अर्यालको नाम एकल सिफारिस भएको हो । 

नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाले एमाले गण्डकी प्रदेश कमिटीमा उनको एकल नाम पेश गरेको छ । भाद्र २० गते बसेको जिल्ला कमिटीको बैठकले पूर्वमन्त्री एवम् सांसद अर्यालको एकल सिफारिस गर्ने निर्णय गरिएको थियो । 

२०७४ सालको संघिय निर्वाचनमा वहालवाला शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई हराएकी अर्याल पुनः क्षेत्र नम्बर २ मा सिफारिस भएपछि स्याङ्जाको राजनीतिक सारगर्मी बढेको छ । सांसद हुँदा तीन पटक मन्त्री बनेको अर्यालको छवि देश र विदेशमा उत्तिकै बढेको छ । जनसंख्या तथा स्वास्थ्य राज्यमन्त्रीबाट मन्त्री पदमा डेब्यु गरेकी अर्यालले भूमि व्यवस्था तथा सहकारी मन्त्री र कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेवारी समेत कुशलता पूर्वक सम्हालिन् । 

मन्त्री हुँदा नेपालको चुच्चे नक्सा, सगरमाथाको मापन, अतिक्रमित जमिनको फिर्ता, भूमि सम्बन्धि समस्या समाधानको आयोग गठन, मल कलकारखाना स्थापना गर्ने निर्णय लगायतका दर्जनौं उदाहरणीय काम गरेकी अर्याल केपी ओली नेतृत्वमा बनेको मन्त्रीमण्डलको उत्कृष्ठ मन्त्री समेत हुन् । 

पार्टीमा मात्रै नभई देशमै प्रभावशाली नेताका रुपमा चर्चित उनी हाल नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिव समेत हुन् ।