समाचार

६ असोज २०७९, स्याङ्जा । ग्रामीण पर्यटनको प्रवर्धन गर्ने उद्धेश्यले तेस्रो कोखे महोत्सव २०७९ हुने भएको छ । ‘ग्रामीण पर्यटनको विकास, राष्ट्र निर्माणको आधार’ मूल नाराका साथ नवज्योति जनसेवा युवा क्लब वालिङ–१२ कोखेमा तेस्रो महोत्सव आयोजना गरेको हो । 

यही असोज १९ देखि २४ गतेसम्म हुने महोत्सवबाट ग्रामीण भेकका भाषा, कला, संस्कृति, संस्कार एवम् पर्यटकीय गन्तब्यको प्रचार–प्रसार गर्ने महोत्सवको लक्ष्य रहेको छ । 

यसैगरी महोत्सवका मुख्य आकर्षणका रुपमा पुरुष भलिबल प्रतियोगिता, पुरुष भेट्रान्स भलिबल प्रतियोगिता, सामूहिक नृत्य प्रतियोगिता, ग्रामीण कृषि जन्य वस्तुहरुको प्रर्दशनी, मौलिक लोक तथा सँस्कृति झल्कने साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुति एवम् विविध मनोरञ्जनात्मक कार्यक्रमहरु रहेका छन् । 

पुरुष भलिबलमा प्रथम, द्वितीय, तृतीय र सन्त्वना टिमले क्रमशः नगद १ लाख १ हजार , ६० हजार, ३० हजार र १५ हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । 

यसैगरी भेट्रान्स भलिबलतर्फ प्रथम हुनेले १ वटा खसी ट्रफी, मेडल र प्रमाणपत्र र द्वितीय हुनेले १ वटा बोका (पाठा) ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।