समाचार

स्याङ्जा । तेस्रो कोखे महोत्सवमा आयोजित पुरुष भलिबलको उपाधि वालिङ भलिबल क्लबले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मिसन थ्री स्टार काउलेलाई हराउँदै वालिङले उपाधि चुमेको हो ।

नवज्योति जनसेवा युवा क्लबको प्राङ्गणमा भएको फाइनल खेल निकै प्रतिस्पर्धा बन्यो । पहिलो र दोस्रो सेट वालिङले जित्यो भने तेस्रो र चौथो सेट मिसन थ्री स्टारले जितेको थियो । पहिलो र दोस्रो सेटको अंक क्रमशः २५–१७ र २५–२१ बन्यो । काउलेले लगातर २५–२२ र २५–१६ अंक ल्याएर लगातर दुई सेट जित्न सफ भयो । 

अन्तिम तथा पाँचौ सेट निकै प्रतिस्पर्धा एवम् रोचक बन्यो । १५ अंकमा सेट सकिनुपर्नेमा वालिङले १५ का विरुद्ध १७ अंक ल्याएर खेल सहित प्रतियोगिताको उपाधि जित्न सफल भए । 

प्रतियोगिताको उपाधिसँगै वालिङले नगद १ लाख १ हजार रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र पाए । उपाधि उपविजेता काउलेले नगद ६० हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

 तृतीय स्थानका लागि भएको खेलमा नेपाल तारा गल्याङ्ले प्रगतिशिल युवा क्लब ओकदीलाई हराए । दुवैले क्रमशः ३० र १५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाए । 

यस्तैगरी प्रतियोगिता अवधिभरमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीका रुपमा विष्णु बस्नेत (वालिङ) चुनिए । उनले नगद ५ हजार रुपैया, ६ तोलाको चाँदीको मेडल, ट्रफी र प्रमाण पत्र पाए । अन्य विधाहरुमा उत्कृष्ट स्पाइकर हरि पाण्डेय, (वालिङ) उत्कृष्ट सेटर सुदीप राना (वालिङ), उत्कृष्ट ब्लकर अर्जुन गुरुङ (काउले), उत्कृष्ट सर्भर ठग बहादुर गुरुङ (काउले), र उत्कृष्ट डिफेन्डर ईश्वर गुरुङ (वालिङ)ले पाए । उनीहरुले क्रमशः ३ हजार रुपैयाँ नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । 

भेट्रान्स तर्फको उपाधि देवी देउराली युवा क्लब मैदानले जित्यो । मैदानले पोखरा भेट्रान्सलाई हराउदै जित हासिल गरेको हो । दुवै टिमले क्रमशः २० हजार रुपैयाँ र १० हजार रुपैयाँ नगद ट्रफि, मेडल र प्रमाणपत्र पाए । 

कार्तिक ४ देखि सुरु भएको तेस्रो कोखे महोत्सव बुधबार सम्पन्न भएको हो ।