समाचार

स्याङ्जा । देश र जनताको भविष्यका लागि नेकपा (एमाले) अपरिहार्य भएको स्याङ्जा क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पद्मा अर्यालले बताएकी छन् । ‘समृद्ध नेपाल–सुखी नेपाली’का लागि मुलुकमा नेकपा (एमाले) अपरिहार्य भएको पार्टीका सचिव एवम् पूर्व मन्त्रीसमेत रहेकी अर्यालले सो कुरा बताएकी हुन् । 

आसन्न मंसिर ४मा हुने निर्वाचनको क्रममा मतदातासँग भेटघाट एवम् घरदैलो कार्यक्रममा पूर्वमन्त्री अर्यालले ३० वर्ष सम्म नभएको विकास ओली सरकारको पालामा भएको बताइन् । अर्यालले भनिन– ‘मुलुकमा कति सरकार आए, गए । तर, ३० वर्षमा नभएको विकास २०७४ को संघ तथा प्रदेश सभा सदस्यको चुनावपछि भएको छ ।’ एमाले नेतृत्वको सरकारले शिक्षा, स्वास्थ्य, सडक, कृषि, पर्यटन क्षेत्रको भौतिक तथा सैद्धान्तिक पक्षको उल्लेखनीय विकास भएको बताइन् । 

‘वर्षौंदेखि अलपत्र परेका अन्तर्राष्ट्रिय विमान स्थल निर्माणदेखि सुरुङमार्गको थालनी, पूर्व पश्चिम द्रुतमार्ग लगायतका राष्ट्रिय गौरवका आयोजनाहरु एमालेको सरकारले गरेको सबैका अगाडि स्पष्ट भएको विषय हो,’ पूर्व मन्त्री अर्यालले भनिन्, ‘एक पालिका एक अस्पताल, एक वडा, एक स्वास्थ्य चौकी निर्माण गर्ने अभियान तथा स्वास्थ्य बीमाको कार्यक्रम लागु भएको छ ।’
आवश्यकताका आधारमा भवन निर्माणसहित विद्यालयमा स्यानिटरी प्याडको सुरुवात, एक पालिका एक प्राविधिक शिक्षालयको अवधारणा लगायतका विषयहरुकाले सार्थक पाएको उनको दावी थियो । 

आँफू मन्त्रीमा रहँदा स्याङ्जाका धेरै सडकहरु पीच भएको र अब भिनी सडकहरुलाई प्राथमिकता दिइने अर्यालले उल्लेख गरिन् । वृहत खानेपानी आयोजना अन्तर्गत जिल्लाका धेरै ठाउँमा खानेपानीको व्यवस्था गरिएको छ र बाँकी रहेका केही स्थानमा अबका दिनमा पूरा गर्ने दायित्व पनि आँफूहरुले नै लिने जानकारी दिइन् । 

‘बालबालिकाहरुको भविष्य निर्माणदेखि जेष्ठ नागरिक सम्मान गर्ने पार्टी नेकपा एमाले भएकोसमेत आम नागरिकका बीच स्पष्ट छ । अरुले कुरा गर्छन्, हामी काम गर्छौं,’ त्यसैले नेकपा एमालेका उम्मेदवारहरुलाई सूर्य चिन्हमा मत दिई विजयी गराउन पूर्व मन्त्री अर्यालले गरिन् ।