समाचार

१९ साउन, काठमाडौं । प्रतिनिधिसभाको आजको बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणको चर्को आलोचना भएको छ । दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको विषयमा गृहमन्त्री खाँणलाई आफ्नै पार्टीका सांसद र प्रतिपक्षी दलका सांसदहरुले चर्को विरोधका साथै आलोचना गरेका थिए । बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले दार्चुला तुइन प्रकारणको विषयलाई महत्वका साथ उठाएका थिए ।

 गृहमन्त्री खाँणप्रति नेकपा (एमाले)का सांसदहरुले चर्को विरोध गरेका थिए । एमालेका सांसदहरु खगराज अधिकारी, महेश बस्नेत, शान्ता चौधारी, पदम गिरी र नेपाली कांग्रेसका सांसद डिला संग्रौला, बिलेन्द्र बडु लगायतले गृहमन्त्रीको विरोध गरेका थिए  । शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले गृहमन्त्रीको काम कार्वाही ढिला भएको भन्दै अक्रामक बनेका थिए । 

गृहमन्त्रीले घट्नाको छानबिनका लागि समिति गठन भइसकेकाले समितिको प्रतिवेदनको आधारमा बोल्ने बताए । यस अघि उनले तुइन प्रकारणमा बोल्न नमिल्ने बताउदै आएका थिए । 

गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मी एसएसबीले तुइन काट्दा दार्चुलाका जयसिहं धामी नदीमा खसेका थिए । उनी हालसम्म बेपत्ता रहेका छन् ।