समाचार

स्याङ्जा, साउन ३ गते । यहाँ स्थित एक विद्यालय व्यवस्थापन समितिमा नगर कार्यपालिका प्रमुखले विद्यालयमा अध्यक्ष नियुक्ति गरेपछि विद्यालयमा तालाबन्दी गरिएको छ । चापाकोट नगरपालिका–१० स्थित जनज्योति माध्यमिक विद्यालयको व्यवस्थापन समितिकाे अध्यक्षमा सूर्य माझीलाई नगरप्रमुखले सिधै अध्यक्ष नियुक्त गरेको आरोपमा विद्यालयमा अभिभावकहरुले तालाबन्दी गरेका छन् ।

विद्यालयका अभिभावक चिनुमाया श्रेष्ठले विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अवैधानिक भएकाले आफूहरुले तालाबन्दी गर्नुपरेको बताइन् । श्रेष्ठले भनिन्, ‘विद्यालय व्यवस्थापन गठन प्रक्रिया विधि, विधान र ऐन अनरुप हुन्छ । यहाँ हाम्रो (अभिभावक) अधिकार विपरीप कार्य भएको छ ।’ सहमतिका आधारमा व्यवस्थापन समिति गठन गर्नुपर्नेमा नगरप्रमुखले टिके अध्यक्ष बनाएकाले आफूहरु आन्दोलित हुनु परेका उनले बताइन् ।

‘व्यक्ति विरोध गरेका होइनौ । विधि र प्रक्रियाको विरोध गरेका हौं’, विद्यालयका अर्का अभिभावक शोभ खनाले भने । समिति गठन बारे विद्यालयका प्रधानाध्यापकसँग पटक–पटक समन्वय गरिदिन आग्रह गरेपनि आफूहरुको माग वेवास्ता गरेकाले आजको स्थिति सिर्जना भएको खनालको दावी छ । विद्यालय नेतृत्वको बारेमा अभिभावकहरुको भेलाबाट चयन गर्नुपर्नेमा नगरपालिकाको ठाडो आदेशले शिक्षा सम्बन्धि ऐन, नियम र स्थानीय सरकारको शिक्षा नियमावालीको उपहास भएको उनको भनाई छ ।

विद्यालयका प्रधानाध्यापक गुरु पंगेनीले नगरपालिकाको आदेश मान्नुपर्ने अवस्था आएको बताए । ‘स्थानीय सरकारले जे गर्न आदेश दिन्छ त्यही गर्नुपर्यो । सरकारको आदेश विधि सम्मत होला हजुर !’ नगरपालिकाबाट नियुक्त अध्यक्ष माझीले विद्यालयको भौतिक संरचना निर्माण लगायत अन्य कुनै कार्यमा आफूसँग सहकार्य नगरिएको प्रधानाध्यापक पंगेनीले आरोप लगाए । निर्माणको विषयमा प्रधानाध्यापकलाई कुनै चासो र चिन्ता नलिन अध्यक्ष माझीले भन्दै आएको पाइएको छ ।

तालाबन्दीका विषयमा नगरपालिकाका स्रोत व्यक्ति मुकुन्द डोटेलले संघिय र स्थानीय कानुनका आधारमा अध्यक्ष नियुक्त गरिएको बताए भने प्रशासकिय अधिकृत ध्रुव खनालले घट्नाको बारेमा आफूलाई केही जानकारी नभएको भन्दै उम्किाए । ‘घट्ना बारे अनभिज्ञ छु । म काठमाण्डौं जाँदै हो’, प्रमुख प्रशासकिय अधिकृत खनाले भने ।

उता नगरपालिकाका प्रमुख शिवकुमार गिरीलाई सम्पर्कगर्दा आफू व्यस्त रहेको भन्दै घट्ना बारे केही बोल्न मानेनन् । प्रमुख गिरीले फोनमा भने, ‘को बोल्या ? म व्यस्त छु ।’

विद्यालय व्यवस्थापन समिति गठनका लागि गत वैशाख ६ गते नगरपालिकाका प्रशासकिय अधिकृत खनालको प्रमुख अतिथ्यतामा अभिभावक भेला सम्पन्न भएको थियो । भेलामा अध्यक्ष पदका लागि १६ जना र सदस्य पदका लागि १० जनाले आफ्नो इच्छा व्यक्त गरेका थिए । तर, नगरपालिकाले एकलौटी सूर्य माझीलाई विद्यालय व्यवस्थापनको अध्यक्षमा नियुक्त गरिएपछि विवाद सिर्जना भएको हो । अध्यक्ष माझीले भेला उपस्थित नभएकाहरुलाई विद्यालय व्यवस्थापन समिति सदस्य र अभिभावक संघको अध्यक्षमा चयन गरिएको आन्दोलनरत पक्षको आरोप छ ।