समाचार

स्याङ्जा, असोज ५ । लगातार ११ वर्ष नेपाली कांग्रेस पार्टी सभापति चलाएका वालिङ नगरपालिका-१२ का कुल बहादुर गुरुङ नेकपा (एमाले) प्रवेश गरेका छन् । मंगलबार नेकपा (एमाले) वालिङ नगर कमिटी वालिङद्वारा आयोजित बृहत कार्यकर्ता भेलामा गुरुङलाई नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीले पार्टी प्रवेश गराएका हुन् ।


गुरुङ २०६७ देखि २०७८ सम्म वालिङ-१२ का वडा सभापति थिए । साविक सिर्सेकोट गाविस कार्यसमितिका सभापति हुदै वडा नम्बर १२ का वडा सभापति भएका हुन् । 

२०२६ सालमा एसएलसी प्रथम श्रेणीमा उतीणर् गरेका गुरुङ २०२६ सालदेखि नै नेपाली कांग्रेस पार्टीमा आवद्ध थिए । उनले भारतबाट नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिएका हुन् । 

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ का लागि क्षेत्रिय प्रतिनिधि समेत हुन्, उनी ।

गुरुङले वालिङ १२ कोखेलाई कांग्रेसमुक्त बनाउन आफू एमाले प्रवेश गरेका बताए । उनले भने, ‘गाउँको विकास गर्न वैचारिक एकताको खाँचो छ । त्यसैले एमाले प्रवेश गरेको हुँ ।’


स्याङ्जामा माओवादी केन्द्र पार्टीसँग एकतापछि जिल्लामा करिब ७० प्रतिशत माओवादी आस्था राख्ने नेता कार्यकर्ता एमालेमा समाहित भएको नेकपा (एमाले) जिल्ला कमिटीका अध्यक्ष पारस शर्माले बताए । 

वालिङको हकमा तत्कालिन माओवादी केन्द्रका वालिङका मेयर उम्मेदवार हुम बहादुर गुरुङ सहित वडा नम्बर २, ३, ४, ५, ६, ७, ९, १० र ११ माओवादीका वडा नेतृत्व नै एमालेमा समाहित भएका छन् ।