समाचार

स्याङ्जाको वालिङमा १८ वर्षभन्दा माथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएकोछ । वालिङ नगरपालिकाका नागरिकलाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट बचाउन तथा नागरिकको जीवन रक्षाका लागि वालिङ नगरपालिकाको पहलमा १८ वर्ष भन्दा माथि उमेर समूहका नागरिकलाई खोप लगाइएको हो । 

वालिङ नगरपालिकाको तथ्याङ्क अनुसार करीब ३२ हजार जनामध्ये यसअघि १७ हजार बढीले खोप लगाइसकेका छन् । बाँकी १७ हजारका लागि मंगलबारबाट सुरु गरिएको छ । 

वालिङ नगरपालिकाभित्र रहेको अस्पताल, स्वास्थ्यचौकी तथा शहरी स्वास्थ्य केन्द्रहरु गरी १७ ठाउँमा तीनदिनसम्म खोप अभियान सञ्चालन गर्ने र त्यसका लागि खोप वालिङमा आईसकेको वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले बताए । उनले भने, ‘वालिङलाई पूर्ण खोपयुक्त नगर बनाउन पहल गरिरहेका छौं । सोही अभियान अन्तर्गत १८ वर्ष माथिका सबै नागरिकलाई खोप लगाउन सुरु गरिएको हो ।’ नगरप्रमुख खाँणले सबै नागरिकलाई आ–आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा गई अनिवार्य रुपमा खोप लगाउन आग्रह गरेका छन् ।

१८ वर्षभन्दा माथिका नागरिकहरुलाई खोप लगाउने कार्य सकिएसँगै उक्त उमेर समूहभन्दा मुनीका नागरिकहरुलाई खोप लगाउनका लागि पहल शुरु गरेको नगरपालिकाले जनाएको छ ।

नगरबासीहरुको जीवन रक्षाका लागि नगरपालिकाको प्रयासमा कात्तिक ३० देखि मङ्सिर २ गतेसम्म तीन दिन खोप अभियान सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिएका छन् ।

वालिङ नगरपालिकाले कोभिड–१९को रोकथाम तथा नियन्त्रणका लागि कुनै कञ्जुस्याई नगरी निरन्तररुपमा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताए । निरीक्षक पाण्डेका अनुसार तीनदिन सम्म सञ्चालन हुने खोप अभियानमा भेरोसेलका १५ हजार मात्रा खोप लगाईनेछ । 

खोप अभियानकालागि नगरपालिकाका १४ वटै वडामा रहेका १७ वटा स्वास्थ्य संस्थामा करीब एकसय जना स्वास्थ्यकर्मीहरु परिचालन हुनेछन् ।