राजनीति

१४ साउन २०७९, स्याङ्जा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकको समृद्धिका लागि नयाँ शक्तिको आवश्यकता रहेको बताएका छन् । शनिबार नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पाँच दलीय गठबन्धनको सरकारले मुलुक बर्बाद बनाएको बताएका छन् । 

वर्तमान गठबन्धनले देश नबन्ने ठोकुवा गर्दै महासचिव पोखरेलले भने, ‘वर्तमान सरकार लम्पसारवाद र अवसारवादको असल सेवक हो । दलाल, नोकरशाही र पूँजीवादीको हितमा मात्र काम गर्छ ।’ गठबन्धनबाट बनेको सरकारसँग कुण्ठा, प्रतिशोध र प्रर्वाग्रह मात्रै रहेको उनले आरोप लगाए ।

देश विकास र नागरिकको हितका लागि आगामी निर्वाचनमा एमालेलाई जिताउनुको विकल्प नरहेको महासचिव पोखरेलले दावी गरे । अस्थिरताका नायक प्रचण्ड र कलांकितका पर्याय माधवकुमार नेपालका कारण शेरबहादुर देउवाको सरकार टिकेको उनले दावी गरे । 

साना पार्टीको किंगमेकर दम्भ, नेपाली कांग्रेस र माओवादीलाई परास्त पार्न आगामी प्रदेशसभा र संघको निर्वाचनमा एमालेलाई जिताउन अपरिहार्य रहेको बताए ।