राजनीति

स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास पूर्वमन्त्री पद्मा अर्यालले स्याङ्जाको स्वरेकमा अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाइडिङ  प्रशिक्षण केन्द्र बनाउने बताएकी छन् । शुक्रबार तेस्रो कोखे महोत्सवमा बोल्दै भीरकोट ५ मा अवस्थित स्वरेक–महापुर मैदानमा प्याराग्लाइडिङ  सिक्न र सिकाउन मिल्ने अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण केन्द्र बनाइने प्रतिबद्धता व्यक्त गरिन् । 

स्वरेक महापुर प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्ट स्थान भएकाले आफू र आफ्नो पार्टी नेकपा (एमाले)को नेतृत्वमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र बनाउनु पूर्वमन्त्री अर्यालको घोषण थियो । प्रशिक्षण केन्द्र स्थापनाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग ‘एभिएसन जोन’ अर्थात आकाशे रंगशालाका लागि छिट्टै पहल गरिने समेत उनले जानकारी दिइन् । 

‘स्याङ्जाको आँधीखोला ‘भ्याली’लाई समेटेर आकाशे रंगशाला घोषण भैसकेको छ’, पूर्वमन्त्री अर्यालले भनिन्, ‘केही प्राविधिक कारणले काम रोकिएको हो । सैद्धान्तिक र व्यवहारिक पक्षको विश्लेषण गरी त्यस कामको सकारात्मक नतिजा ल्याउनेछु ।’ स्वरेकमा प्रशिक्षण केन्द्र स्थापनाका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारसँग समन्वय पनि गर्ने उनले बताइन् ।
आँधीखोला भ्यालीलाई आकाशे रंगशाला (एभिएसन जोन) तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पूर्वमन्त्री स्वः रबिन्द्र अधिकारीको पालामा भएको हो ।

स्याङ्जा जिल्ला साहसिक पर्यटनको सम्भावना बोकेको जिल्ला रहेको बताउँदै अर्यालले मंसिर ४ पछि बन्ने ओली नेतृत्वको सरकारले स्याङ्जाको पर्यटनलाई विशेष ध्यान दिइने बताइन् । 

यस अघि स्वरेकमा सन् २०१७ मा नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनशीप (१८औ एसियन गेम प्रथम चरण छनौट सहित) र २०१८ मा प्याराग्लाडिङको विश्वकप सम्पन्न भैसकेको छ । 

पूर्वमन्त्री अर्याल आगामी मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनका लागि स्याङ्जा क्षेत्र २ का लागि उम्मेदवार हुन् ।